क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम

क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम
सुकुना बहुमुखी क्याम्पसको प्राथमिक उपचार एकाइको आयोजनामा मिति २०८० साल मङ्सिर २७ गतेका दिन क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थी र सो तहमा अध्यापनरत शिक्षकहरूको सहभागीता रहेको थियो । उक्त सचेतना कार्यक्रममा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी र बजार व्यवस्थापक श्री ईश्वर गुरुङले स्तन‚ पाठेघर र अण्कोषमा हुने क्यान्सरका लक्षण‚ असर‚ रोकथाम र उपचार विधिका विषयमा सहभागीहरूलाई सचेतना गराएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरू र विज्ञ बिचमा उक्त रोग र उपचारका विषयमा प्रश्नोत्तर समेत भएको थियो । कार्यक्रमको अन्तमा विषयविज्ञ र छात्राहरू बिच छुट्टै छलफल गरिएको थियो । विषयविज्ञको टोली र सहभागी सबैलाई क्याम्पस प्रमुखले धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।

एक दिवशीय सचेतनामूलक कार्यक्रम

एक दिवशीय सचेतनामूलक कार्यक्रम सम्पन्न
क्याम्पसको आयोजनामा HPV Disease (महिलाहरूको पाठ्यघरको मुखमा लाग्ने क्यान्सर रोग) लाग्ने कारण‚ यसका लक्षण र यसबाट बच्ने उपायका विषयमा एक दिवशीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । मिति २०८० साल मङ्सिर २६ गते क्याम्पस सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा बि.एस्सि.‚ जनसङ्ख्या र स्वास्थ्य शिक्षा अध्ययनरत विद्यार्थीहरू गरी जम्मा १५० भन्दा बढि विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रममा यस रोगको उपचारका लागि इन्जेक्सन उत्पादनमा कार्यरत संयुक्त राज्य अमेरिकाका युवा वैज्ञानिक डा. विष्णु रायमाझी यस्तो रोग लाग्ने कारण‚ यसका लक्षण‚ विशेषता‚ यसको असर र यस रोगको उपचार पद्दतिका विषयमा स्पष्ट पार्नु भएको छ । कार्यक्रममा सहभागि शिक्षक तथा विद्यार्थीहरूले सहजकर्ता विज्ञलाई क्यान्सर रोग सँग सम्बन्धित विभिन्न प्रश्नहरू सोधेका थिए । सहजकर्ता विज्ञले वैज्ञानिक प्रयोगशालामा आधारित भई ती प्रश्नहरूको उत्तर दिनु भएको थियो ।

रक्तदान कार्यक्रम सम्पन्न

पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको आयोजनामा मिति २०८० साल मङ्सिर २६ गते मङ्गलबार विहान ७:३० बजे देखि १०:३० बजेसम्म क्याम्पस प्राङ्गणमा “रक्तदान जीवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ६९ पिण्ट रगत सङ्कलन गरिएको छ । पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष‚ उपाध्यक्ष‚ सदस्यहरू‚ क्यापस प्रमुख‚ शिक्षक एवम् कर्मचारीहरू‚ पूर्वविद्यार्थीहरू‚ नागरिक समाजका महानुभावहरू‚ विद्यार्थी सङ्घ/सङ्गठनका नेताहरू‚ स्ववियुका पूर्वपदाधिकारीहरू‚ विभिन्न सङ्घ/संस्थाका प्रमुखहरू‚ जनप्रतिनिधिहरू‚ अभिभावक‚ स्ववियुका वर्तमान पदाधिकारीहरू र अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । रक्तदाताहरूलाई समाजले तत्काल रक्तदाता प्रमाणपत्र प्रदान गरेको छ । पूर्वविद्यार्थी समाजले सङ्कलित रगतलाई विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडक्रस ब्लड बैङ्कमा सङ्ग्रह गरेको छ ।

सुकुना बहुमुखी क्याम्पसमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मिति २०८० साल भाद्र २१ गते विहीबारका दिन सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षता र विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारी र नगरप्रमुख श्री केदारप्रसाद गुरागाईँको समुपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरू‚ लेखा समिति तथा पुनरावेदन समितिका सदस्यहरू‚ सञ्चालक समितिका पूर्वपदाधिकारीहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ प्रतिनिधिमूलक रुपमा जनप्रतिनिधिहरू‚ क्याम्पस प्रमुख‚ सहायक क्याम्पस प्रमुखहरू‚ शैक्षिक कार्यक्रमका संयोजकहरू‚ विभागीय प्रमुखहरू‚ कार्यक्रम निर्देशक‚ फोकल पर्सन‚ स्वमूल्याङ्कन समूह‚ विभिन्न समितिका प्रतिनिधिहरू‚ क्याम्पमा कार्यरत शिक्षकहरू‚ कर्मचारीहरू‚ स्ववियुका पदाधिकारीहरू र विद्यार्थी गुणस्तर समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वमूल्याङ्कन समूहका संयोजक एवम् शिक्षक श्री नरप्रसाद भण्डारीले विभिन्न आठवटा बेञ्चमार्कका आधारमा क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउनुअघि‚ प्रमाणपत्र प्राप्ति पछि र हालको अवस्थामा क्याम्पसले भौतिक‚ शैक्षिक‚ आर्थिक‚ पुस्तकालय‚ विद्यार्थी कल्याण‚ अनुसन्धान‚ प्रकाशन‚ सुशासन‚ प्राज्ञिक उन्नयन तथा पेसागत विकास‚ सामाजिक सम्बन्ध‚ शैक्षिक गुणस्तर अभिवृद्धि‚ विद्यार्थी सङ्ख्याको बढोत्तरी‚ शैक्षिक नतिजाको अवस्था‚ विद्यार्थीका लागि रोजगारी स्थापन‚ प्रतिभा पहिचान र प्रवर्धन‚ अभिलेखीकरण आदि क्षेत्रमा क्याम्पसले गरेका उपलब्धिहरूको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो । उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले क्याम्पसले हालसम्म गरेका उपलब्धि प्रति सन्तोष प्रकट गर्दै अब सुकुना बहुमुखी क्याम्पसले स्वयत्तताका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने‚ डिम्ड युनिभर्सिटि (Deemed University) सञ्चालन गर्नु पर्ने‚ अनुसन्धानका गतिविधिहरूलाई सघनरुपमा ठूलो सङ्ख्यामा सञ्चालन गर्नु पर्ने‚ अनुसन्धान अझै नतिजामूखी हुनु पर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा थप प्रयासहरू गर्नु पर्ने र एक नम्बरको सामुदायिक क्याम्पसका रुपमा स्थापित हुनु पर्ने कुरामा जोड दिनु भयो । यस्ता कार्यहरूमा विश्वविद्यालय अनुदान आयोग नेपालले क्याम्पसलाई आर्थिक‚ प्राविधिक र भौतिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख श्री केदारप्रसाद गुरागाईँले क्याम्पसबाट नगरपालिकाले कन्सल्टेन्सी सेवा लिएको‚ क्याम्पसले प्राविधिक धारका कार्यक्रम सञ्चालन गरेमा भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा प्रोत्साहन गर्ने र सुन्दरहरैँचा नगरपालिका क्षेत्रका विद्यालयमा शिक्षकहरूको पेसागत विकासका लागि तालिम तथा सीप विकासमा क्याम्पसका विशेषज्ञहरूलाई प्रयोग गर्ने विचार प्रस्तुत गर्नु भयो ।  क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री ललितबहादुर श्रेष्ठले उक्त कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियोभने कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गर्नु भएको थियो ।  उक्त कार्यक्रमबाट क्याम्पसले हौसलाका साथ नयाँ गति लिने‚ गुणस्तर सुनिश्चितताको नविकरण छिटै हुने‚ अब नयाँ लक्ष्य र कार्यक्रमका साथ क्याम्पसले प्राज्ञिक स्वयत्तताका कार्यक्रमहरू सञ्चालन गर्दै डिम्ड युनिभर्सिटि (Deemed University) तर्फ उन्मुख हुने भएकाले कार्यक्रम उपलब्धीमूलक भएको मानिएको छ ।

काठमाडौं विश्वविद्यालय र सुकुना बहुमुखी क्याम्पस बिच सम्झौता सम्पन्न ।

आज मिति २०८०/०५/०१ गते शुक्रबारका दिन एक कार्यक्रमका बिच काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) र सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङ बिच अनुसन्धान तथा विद्यार्थी सहयोग कार्यक्रममा नवप्रवर्तन कार्यक्रम अन्तर्गत शिक्षक तथा कर्मचारीहरूको लागि Advanced Research Writing and Publication (3 credits) and Innovation and Student Support (3 credits) को फरक-फरक कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरियो । यस सम्झौता पत्रमा काठमाडौँ विश्वविद्यालयको तर्फबाट विश्वविद्यालयका डीन प्रा.डा. बालचन्द्र लुईंटेल र सहप्राध्यापक डा. हेमराज काफ्लेले तथा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारी र क्याम्पस प्रमुख श्री अर्जुनराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौताअनुसार दुबै संस्थाले यस वर्ष माथि उल्लिखित दुई कार्यक्रमहरू सम्पन्न गर्ने सहमति भएको छ । 

अनुसन्धान सम्बन्धि अभिमुखीकरण, छलफल तथा अन्तर्क्रिया कार्यक्रम २०७९ सम्पन्न

आज मिति २०७९ साल कार्तिक ०१ गते मङ्गलबारका दिन विहान ७:०० बजे देखि ११:३० बजेसम्म सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) को आयोजनामा क्याम्पसमा कार्यरत विज्ञान तथा गणित शिक्षक तथा विज्ञान विभागमा कार्यरत कर्मचारीका लागि अनुसन्धान तथा जर्नल आर्टिकल लेखन सम्बन्धि अभिमुखीकरण, छलफल र अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको शुरुमा अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख श्री गणेशप्रसाद दहालले प्राध्यापन पेशामा अनुसन्धान तथा प्राज्ञिक लेखन र प्रकाशनको महत्व प्रस्टपार्दै शिक्षक तथा कर्मचारीहरूका लागि अनुसन्धान व्यवस्थापन एकाइले गर्दै आएका क्रियाकलाप र गतिविधिहरू उल्लेख गर्नुभयो । शिक्षक तथा कर्मचारीहरूका लागि अनुसन्धान तथा प्राज्ञिक लेखनका क्षेत्रमा क्याम्पस र एकाइले पुर्याउने आर्थिक, वित्तिय र प्राविधिक सहयोगको नीतिगत व्यवस्था उल्लेख गर्नुभयो । यसका साथै विज्ञान विषयका शिक्षकहरूले कसरी समस्याको पहिचान गर्ने, अनुसन्धानमा मुद्दाहरू कसरी उठाउने, प्रयोगशालाको प्रयोग गर्ने तरिका, तथ्याङ्कको प्रस्तुतिकरण र व्याख्या विश्लेषण गर्ने तरिका र अनुसन्धानलाई अध्यापनमा प्रयोग गर्ने तरिकाका विषयमा आजको प्रस्तुतिकरण, छलफल र अन्तर्क्रिया केन्द्रित हुने र यस कार्यमा सहजकर्ताले योगदान गर्नुहुने अपेक्षा व्यक्त गर्नु भयो ।
कार्यक्रमको दोस्रो र मुख्य चरणमा Department of Energy Storage/Conversion Engineering (BK21 FOUR) of Graduate School, Hydrogen and Fuel Cell Research Center, Jeonju National University, Jeonju, Jeollabuk-do, 54896, Republic of Korea का डा. मिलनबाबु पौडेलले अनुसन्धान तथा आर्टिकल लेखनका आफ्ना अनुभवहरू प्रस्तुत गर्दै अनुसन्धानमूलक लेखका लागि विषयबस्तुको छनोट तरिका, शीर्षक छनोट, लेखनका समस्याहरू, तथ्याङ्कको प्रयोगशाला परिक्षण, आर्टिकल लेखनका विषय र क्षेत्र, ज्ञानको अन्तर, साहित्यको पुनरावलोकन, अनुसन्धान विधि, तथ्याङ्याक तथा सूचनाको प्रस्तुतिकरण, छलफल एवम् व्याख्या विश्लेषण, निष्कर्ष, उदृताङ्श, सङ्क्षेपिकरण र सन्दर्भग्रन्थका विषयमा अभिमुखीकरण, छलफल, अन्तर्क्रिया तथा अभ्यास समेत गराउनु भयो । उहाँले विज्ञान क्षेत्रका विभिन्न अनुसन्धानमूलक लेखहरूको नमुनाहरू प्रस्तुत गर्दै ति लेखका विषयमा प्रष्ट पार्नुभयो । शिक्षकहरूले अन्तर्राष्ट्रिय स्तरको विज्ञान प्रयोगशालाको प्रयोग र सहलेखन एवम् प्रकाशनमा सहयोग गर्ने विश्वास दिलाउनु भयो ।
कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख श्री चन्द्रमणि राईले सहजकर्ता एवम् सहभागीहरूलाई धन्यवाद दिँदै अनुसन्धानका क्षेत्रमा क्याम्पसले अवलम्वन गर्ने नीति तथा कार्यक्रम र बजेटको व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्दै अनुसन्धानमूलक गतिविधमा लाग्न शिक्षक तथा कर्मचारीहरूलाई अनुरोध गर्दै आजको एक दिवशीय अनुसन्धानमूलक अभिमुखीकरण, छलफल तथा अन्तर्क्रिया कार्यक्रमको समापन गर्नुभयो ।

अनुसन्धान–कार्यशाला २०७९ सम्पन्न ।

आज मिति २०७९ साल असोज २९ गते शनिबारका दिन सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) को आयोजनामा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूमा अनुसन्धान तथा समिक्षित जर्नल आर्टिकल लेखन सम्बन्धि कार्यशाला सञ्चालन गरियो । कार्यक्रमको शुरुमा अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख श्री गणेशप्रसाद दहालले कार्यशालाको महत्व र ‌औचित्य प्रस्टपार्दै शिक्षक तथा कर्मचारीहरूका लागि गर्दै आएका क्रियाकलाप र गतिविधि उल्लेख गर्नुभयो । शिक्षक तथा कर्मचारीहरूले अनुसन्धान तथा प्राज्ञिक लेखन गरेमा क्याम्पसले पुर्याउने आर्थिक, वित्तिय र प्राविधिक सहयोगको नीतिगत व्यवस्था उल्लेख गर्नुभयो ।

      कार्यक्रमको दोस्रो र मुख्य चरणमा त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, पाठ्यक्रम तथा मूल्याङ्कन विभाग, कीर्तिपुर, काठमाडौका प्रा. डा. पेशल खनालले सहभागीहरूले छनोट गरेका अनुसन्धानमूलक लेखका शीर्षक, शीर्षक छनोटका समस्याहरू, आर्टिकल लेखनका विषय र क्षेत्र, ज्ञानको अन्तर, साहित्यको पुनरावलोकन, अनुसन्धान विधि, तथ्याङ्याक तथा सूचनाको प्रस्तुतिकरण, छलफल एवम् व्याख्या विश्लेषण, निष्कर्ष, उदृताङ्श, सङ्क्षेपिकरण र सन्दर्भग्रन्थका विषयमा छलफल तथा अभ्यास गराउनु भयो । उहाँले अहिलेसम्मका अनुसन्धानमूलक लेखहरूको नमुना प्रस्तुत गर्नुभयो ।

      कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख श्री चन्द्रमणि राईले सहजकर्ता एवम् सहभागीहरूलाई धन्यवाद दिँदै अनुसन्धानका क्षेत्रमा क्याम्पसले अवलम्वन गर्ने नीति तथा कार्यक्रम र बजेटको व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्दै सबै शिक्षक तथा कर्कचारीहरूलाई अनुसन्धान तथा प्राज्ञिक लेख लेखन एवम् प्रकाशनमा लाग्न अनुरोध गर्दै एक दिवशीय कार्यशाला कार्यक्रमको समापन गर्नुभयो ।