क्याम्पसमा सेयर सचेतना कार्यक्रम सम्पन्न ।

पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको आयोजनामा मिति २०८० फागुन १८ गते शुक्रबारका दिन क्याम्पस सभाकक्षमा सेयर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । उक्त सचेतना कार्यक्रम विहानी र दिवासत्रमा सञ्चालन गरिएको थियो । विहानीसत्रमा सञ्चालित कार्यक्रममा एबिएस‚ बिएड‚ बिबिएस र बिएमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएका थिए । त्यसैगरी दिवासत्रमा बिएस्सि र बिबिएमा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । दुबै सत्रका कार्यक्रममा विशेषज्ञका रुपमा आमन्त्रित एसपिएसए सेक्युरिटिज लिमिटेड ब्रोकर ८७ का चार्टर एकाउण्टेण्ट एवम् डाइरेक्टर श्री सुभाष आचार्य र अर्का डाइरेक्टर मोहन चम्लागाईँ ले सेयर तथा सेयस बजारको अर्थ‚ उद्धेश्य‚ सेयर बजारमा प्रवेश गर्ने तरिका‚ यसका फाइदा‚ सेयर कारोबारबाट फाइदा आर्जन गर्ने तरिका‚ सेयर बजारमा अपनाउनु पर्ने सावधानीहरू‚ सेयर कारोबारका तरिकाहरू‚ ब्रोकर बन्नका लागि हुनुपर्ने गुण तथ कार्यहरू‚ सेयर कारोबारबाट गर्न सकिने आर्थिक तथा व्यवसायिक प्रगति‚ सेयरबजारले अर्थतन्त्रमा पार्ने बहुआयामिक प्रभावका विषयमा सहभागी विद्यार्थी‚ शिक्षक‚ कर्मचारीहरू र पूर्वविद्यार्थीहरूलाई अभिमुखीकरण गर्नु भएको थियो ।

त्रिवि‚ व्यवस्थापन सङ्कायका डीनबाट शिक्षण तथा अभिमुखीकरण सम्पन्न

मिति २०८० फागुन १३ गतेका दिन यस सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचामा त्रिवि, व्यवस्थापन सङ्कायका डीन प्रा. डा. डिल्लीराज शर्माबाट बिबिए र एमबिएसका विद्यार्थीहरूलाई अतिथि प्राध्यापकका रुपमा विहान ७:०० बजे देखि अपरान्ह ४:०० बजेसम्म शिक्षण तथा अभिमुखीकरण कार्य सम्पन्न भएको छ । विहान एमबिएस प्रथम र द्वितीय सिमेष्टरका विद्यार्थीहरूलाई सिमेष्टर प्रणालीमा शिक्षक र विद्यार्थीले गर्नु पर्ने कार्यहरू, मूल्याङ्कन पद्दति, शिक्षण विधि, परियोजना कार्य, खोज तथा अनुसन्धान, अनुसन्धानात्मक लेख लेखन तथा प्रकाशन, रोजगारीको सिर्जना, बजारीकरण, पाठ्यक्रमको कार्यन्वय, नेतृत्व विकास, श्रम बजारमा व्यवस्थापन विषयका विद्यार्थीहरूको पहुँच र व्यक्तित्व विकासका तरिकाका विषयमा अभिमुखीकरण गर्नु भएको थियो । दोस्रोसत्रमा प्रा.डा. शर्माले बिबिए तर्फ प्रथम, तेस्रो, चौथो र छैटौँ सेमिष्टरका विद्यार्थीहरूलाई केस स्टडि, परियोजना कार्य, प्रतिवेदन लेखन, सर्भे, खोजकार्यको प्रस्तुतीकरण, अध्ययन तथा शिक्षण विधि, मूल्याङ्कन पद्दति, व्यक्तित्व विकास गर्ने तरिका, समय व्यवस्थापन र विश्व बजारमा व्यवस्थापन विषयको सम्भावनाका विषयमा अभिमुखीकरण गर्नु भएको थियो ।

क्याम्पसमा मुक्तक प्रतियोगिता कार्यक्रम सम्पन्न ।

मिति २०८० फागुन ११ गते शुक्रबारका दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू बिच मुक्तक वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति र नेपाली विभाग अन्तर्गतको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा र विदुर सुवेदीको सभापतित्वमा
सञ्चालन भएको मुक्तक वाचन प्रतियोगिता कार्यक्रममा २४ जना सर्जक विद्यार्थीहरूले प्रतियोगितात्मक मुक्तक वाचन गरेका थिए । उक्त
कार्यक्रममा प्रथम स्थानमा दिलकुमार सुयल‚ द्वितीय स्थानमा सत्तिस कार्की‚ तृतीय स्थनमा एलिना थापा र सान्त्वनामा सज्जल भट्टराई छनोट
भएका थिए । उक्त कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य एवम् शिक्षण सहायक रेखा सुवेदीले गरेकी थिइन् ।

दुई अनुसन्धान व्यवस्थापन एकाइ बिच द्विपक्षिय सम्झौता सम्पन्न

मिति २०८० फागुन १० गते विहिबारका दिन एक समारोहमा सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङ र जनमैत्री बहुमुखी क्याम्पस‚
कुलेश्वर‚ काठमाडौं बिच अनुसन्धान‚ शिक्षण कौसल‚ ज्ञान अभिवृद्धि र संस्थागत सञ्जाल तथा सम्बन्धको विकास र ती क्षेत्रहरूमा सहकार्य गर्ने
विषयमा द्विपक्षिय सम्झौता सम्पन्न भएको छ । दुबै क्याम्पसका क्याम्पस प्रमुख द्वय अर्जुनराज अधिकारी र भोलानाथ ओझाको रोहवरमा सुकुना
बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहाल र जनमैत्री बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन एकाइका
प्रमुख अनिलप्रसाद भुषालले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गरेका थिए ।

अनुसन्धान कार्यक्रम सञ्चालनका लागि बैठक सम्पन्न

क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) को आयोजनामा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने विषयमा मिति २०८० माघ ११ गते विहान क्याम्पस सभाकक्षमा शिक्षक बैठक सम्पन्न भएको छ । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा अनुसन्धान व्यवस्थापन एकाइकाको तर्फबाट तयार गरिएको कार्ययोजना र कार्यक्रमको रुपरेखा प्रस्तुत गरिएको थियो । प्रस्तुत कार्ययोजनाअनुसार क्याम्पसले Academic Handbook of Sukuna मा अनुसन्धानमूलक लेखहरू प्रकाशन गर्ने‚ लघुअनुसन्धान र सर्भेका कार्यहरू सम्पन्न गर्ने‚ विज्ञ समिक्षीत जर्नल प्रकाशन गर्ने तथा क्याम्पस र काठमाडौँ विश्वविद्यालय सहकार्यमा शिक्षकहरूलाई ४८ घण्टे विकसित अनुसन्धानको कोर्स सञ्चालन गरिने योजना प्रस्तुत गरिएको थियो ।