सुकुना बहुमुखी क्याम्पसमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मिति २०८० साल भाद्र २१ गते विहीबारका दिन सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षता र विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारी र नगरप्रमुख श्री केदारप्रसाद गुरागाईँको समुपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरू‚ लेखा समिति तथा पुनरावेदन समितिका सदस्यहरू‚ सञ्चालक समितिका पूर्वपदाधिकारीहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ प्रतिनिधिमूलक रुपमा जनप्रतिनिधिहरू‚ क्याम्पस प्रमुख‚ सहायक क्याम्पस प्रमुखहरू‚ शैक्षिक कार्यक्रमका संयोजकहरू‚ विभागीय प्रमुखहरू‚ कार्यक्रम निर्देशक‚ फोकल पर्सन‚ स्वमूल्याङ्कन समूह‚ विभिन्न समितिका प्रतिनिधिहरू‚ क्याम्पमा कार्यरत शिक्षकहरू‚ कर्मचारीहरू‚ स्ववियुका पदाधिकारीहरू र विद्यार्थी गुणस्तर समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वमूल्याङ्कन समूहका संयोजक एवम् शिक्षक श्री नरप्रसाद भण्डारीले विभिन्न आठवटा बेञ्चमार्कका आधारमा क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउनुअघि‚ प्रमाणपत्र प्राप्ति पछि र हालको अवस्थामा क्याम्पसले भौतिक‚ शैक्षिक‚ आर्थिक‚ पुस्तकालय‚ विद्यार्थी कल्याण‚ अनुसन्धान‚ प्रकाशन‚ सुशासन‚ प्राज्ञिक उन्नयन तथा पेसागत विकास‚ सामाजिक सम्बन्ध‚ शैक्षिक गुणस्तर अभिवृद्धि‚ विद्यार्थी सङ्ख्याको बढोत्तरी‚ शैक्षिक नतिजाको अवस्था‚ विद्यार्थीका लागि रोजगारी स्थापन‚ प्रतिभा पहिचान र प्रवर्धन‚ अभिलेखीकरण आदि क्षेत्रमा क्याम्पसले गरेका उपलब्धिहरूको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो । उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले क्याम्पसले हालसम्म गरेका उपलब्धि प्रति सन्तोष प्रकट गर्दै अब सुकुना बहुमुखी क्याम्पसले स्वयत्तताका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने‚ डिम्ड युनिभर्सिटि (Deemed University) सञ्चालन गर्नु पर्ने‚ अनुसन्धानका गतिविधिहरूलाई सघनरुपमा ठूलो सङ्ख्यामा सञ्चालन गर्नु पर्ने‚ अनुसन्धान अझै नतिजामूखी हुनु पर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा थप प्रयासहरू गर्नु पर्ने र एक नम्बरको सामुदायिक क्याम्पसका रुपमा स्थापित हुनु पर्ने कुरामा जोड दिनु भयो । यस्ता कार्यहरूमा विश्वविद्यालय अनुदान आयोग नेपालले क्याम्पसलाई आर्थिक‚ प्राविधिक र भौतिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख श्री केदारप्रसाद गुरागाईँले क्याम्पसबाट नगरपालिकाले कन्सल्टेन्सी सेवा लिएको‚ क्याम्पसले प्राविधिक धारका कार्यक्रम सञ्चालन गरेमा भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा प्रोत्साहन गर्ने र सुन्दरहरैँचा नगरपालिका क्षेत्रका विद्यालयमा शिक्षकहरूको पेसागत विकासका लागि तालिम तथा सीप विकासमा क्याम्पसका विशेषज्ञहरूलाई प्रयोग गर्ने विचार प्रस्तुत गर्नु भयो ।  क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री ललितबहादुर श्रेष्ठले उक्त कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियोभने कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गर्नु भएको थियो ।  उक्त कार्यक्रमबाट क्याम्पसले हौसलाका साथ नयाँ गति लिने‚ गुणस्तर सुनिश्चितताको नविकरण छिटै हुने‚ अब नयाँ लक्ष्य र कार्यक्रमका साथ क्याम्पसले प्राज्ञिक स्वयत्तताका कार्यक्रमहरू सञ्चालन गर्दै डिम्ड युनिभर्सिटि (Deemed University) तर्फ उन्मुख हुने भएकाले कार्यक्रम उपलब्धीमूलक भएको मानिएको छ ।

Leave A Reply