क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा तथा क्याम्पसमा रहेका सबै विद्यार्थीहरूका सङ्घ/सङ्गठनहरूको सहभागितामा
विभिन्न सँस्कृतिक कार्यक्रम सहित क्याम्पस प्राङ्गणमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । स्वतन्त्र विद्यार्थी
युनियनका अध्यक्ष सन्तोष लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रमको समुद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले गर्नु भएको थियो । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन‚ अध्यापन‚ अतिरिक्त क्रियाकलाप‚ खोज अनुसन्धान‚ व्यक्तित्व विकास र शैक्षिक नतिजाका क्षेत्रमा क्याम्पसलाई गुणस्तरीय थलो
बनाउने कार्यमा जोड दिनु भएको थियो । उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका सत्तीस कार्की‚ नेविसङ्घका विजय ओझा‚ अनेरास्ववियूका रोहन खत्री र अनेरास्ववियुका योगेश दाहालले विद्यार्थी एकतामा जोड दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई स्वगत गरेका थिए । स्वागत कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सञ्चालन स्ववियु सचिव एलिस ‌ओझाले गरेका थिए भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमको सञ्चालन स्ववियु सदस्य मधु घिमिरेले गरेकी थिइन् । दोस्रो चरणमाअतिथिका रुपमा उपस्थित राष्ट्रिय रुपमा ख्यातिप्राप्त हाँस्यव्यङग्यका सम्राट मनोज गजुरेलले राजनीतिक‚ सामाजिक‚ साँस्कृतिक र शैक्षिक क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति माथि कडा व्यङ्ग्य प्रहार गर्दै जनस्तरबाट सुसञ्चालित यति भव्य रुपमा सञ्चालित सुकुना बहुमुखी क्याम्पसबाट आफू लोभिएको
बताउनु भयो । कार्यक्रममा विद्यार्थी कलाकारहरूले ५ वटा गायन र ३२ वटा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा शिक्षक‚ कर्मचारी‚ विद्यार्थी‚ विद्यार्थीका सङ्घ सङ्गठनका नेता‚ पूर्वस्ववियुका सभापति एवम् पदाधिकारीहरू‚ पूर्वविद्यार्थीहरू‚अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको थियो । स्वागत कार्यक्रम विहान ९:०० बजे देखि अपरान्ह ५:०० बजेसम्म ८ घण्टा चलेको थियो ।