वृत्ति विकास र छात्रवृत्तिका लागि परामर्श तथा पथप्रदर्शन कार्यक्रम सम्पन्न

वृत्ति विकास र छात्रवृत्तिका लागि परामर्श तथा पथप्रदर्शन कार्यक्रम सम्पन्न
सुकुना बहुमुखी क्याम्पस र युनाइटेड वर्ल्ड स्कूल (UWS) काठमाडौँको संयुक्त आयोजनामा मिति २०८० साल मङ्सिर २५ र २६ गतेका दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न क्षेत्रबाट वृत्ति विकास र छात्रवृत्तिका लागि गर्नु पर्ने काम‚ अपनाउनु पर्ने तरिका‚ स्रोतहरू तथा वृत्ति विकास सुविधा र छात्रवृत्तिका लागि पहुँच विस्तारका विषयमा परामर्श र पथप्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ । युनाइटेड वर्ल्ड स्कूल (UWS) ले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न निकाय‚ सङ्घ/संस्थाहरूबाट विद्यार्थीहरूको वृत्ति विकास सुविधा र छात्रवृत्तिका निश्चित रकम‚ खाना‚ आवास‚ शैक्षिक सामग्री‚ स्वस्थ्य विमा जस्ता सुविधा सङ्कलन गरी विद्यार्थीहरूलाई उपलब्ध गराएको विषयमा विषयविज्ञका रुपमा सो संस्थाका छात्रवृत्ति शाखाका प्रमुख श्री विवेकरत्न शाक्यले स्पष्ट पार्दै वृत्ति विकास सुविधा र छात्रवृत्तिको प्राप्तिका लागि परामर्श र पथप्रदर्शन गर्नु भएको थियो । दुई दिनसम्म सञ्चालित सो कार्यक्रममा ३५० भन्दा बढि अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । यस कार्यक्रमबाट विद्यार्थीहरूले वृत्ति विकास र छात्रवृत्तिका सुविधा प्राप्त गर्न फलदायी हुने अपेक्षा गरिएको छ ।

क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम

क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम
सुकुना बहुमुखी क्याम्पसको प्राथमिक उपचार एकाइको आयोजनामा मिति २०८० साल मङ्सिर २७ गतेका दिन क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थी र सो तहमा अध्यापनरत शिक्षकहरूको सहभागीता रहेको थियो । उक्त सचेतना कार्यक्रममा विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी र बजार व्यवस्थापक श्री ईश्वर गुरुङले स्तन‚ पाठेघर र अण्कोषमा हुने क्यान्सरका लक्षण‚ असर‚ रोकथाम र उपचार विधिका विषयमा सहभागीहरूलाई सचेतना गराएका थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरू र विज्ञ बिचमा उक्त रोग र उपचारका विषयमा प्रश्नोत्तर समेत भएको थियो । कार्यक्रमको अन्तमा विषयविज्ञ र छात्राहरू बिच छुट्टै छलफल गरिएको थियो । विषयविज्ञको टोली र सहभागी सबैलाई क्याम्पस प्रमुखले धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो ।

एक दिवशीय सचेतनामूलक कार्यक्रम

एक दिवशीय सचेतनामूलक कार्यक्रम सम्पन्न
क्याम्पसको आयोजनामा HPV Disease (महिलाहरूको पाठ्यघरको मुखमा लाग्ने क्यान्सर रोग) लाग्ने कारण‚ यसका लक्षण र यसबाट बच्ने उपायका विषयमा एक दिवशीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । मिति २०८० साल मङ्सिर २६ गते क्याम्पस सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा बि.एस्सि.‚ जनसङ्ख्या र स्वास्थ्य शिक्षा अध्ययनरत विद्यार्थीहरू गरी जम्मा १५० भन्दा बढि विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रममा यस रोगको उपचारका लागि इन्जेक्सन उत्पादनमा कार्यरत संयुक्त राज्य अमेरिकाका युवा वैज्ञानिक डा. विष्णु रायमाझी यस्तो रोग लाग्ने कारण‚ यसका लक्षण‚ विशेषता‚ यसको असर र यस रोगको उपचार पद्दतिका विषयमा स्पष्ट पार्नु भएको छ । कार्यक्रममा सहभागि शिक्षक तथा विद्यार्थीहरूले सहजकर्ता विज्ञलाई क्यान्सर रोग सँग सम्बन्धित विभिन्न प्रश्नहरू सोधेका थिए । सहजकर्ता विज्ञले वैज्ञानिक प्रयोगशालामा आधारित भई ती प्रश्नहरूको उत्तर दिनु भएको थियो ।

रक्तदान कार्यक्रम सम्पन्न

पूर्वविद्यार्थी समाज‚ सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको आयोजनामा मिति २०८० साल मङ्सिर २६ गते मङ्गलबार विहान ७:३० बजे देखि १०:३० बजेसम्म क्याम्पस प्राङ्गणमा “रक्तदान जीवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त रक्तदान कार्यक्रममा जम्मा ६९ पिण्ट रगत सङ्कलन गरिएको छ । पूर्वविद्यार्थी समाजका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष‚ उपाध्यक्ष‚ सदस्यहरू‚ क्यापस प्रमुख‚ शिक्षक एवम् कर्मचारीहरू‚ पूर्वविद्यार्थीहरू‚ नागरिक समाजका महानुभावहरू‚ विद्यार्थी सङ्घ/सङ्गठनका नेताहरू‚ स्ववियुका पूर्वपदाधिकारीहरू‚ विभिन्न सङ्घ/संस्थाका प्रमुखहरू‚ जनप्रतिनिधिहरू‚ अभिभावक‚ स्ववियुका वर्तमान पदाधिकारीहरू र अध्ययनरत विद्यार्थीहरूको उपस्थिति रहेको थियो । रक्तदाताहरूलाई समाजले तत्काल रक्तदाता प्रमाणपत्र प्रदान गरेको छ । पूर्वविद्यार्थी समाजले सङ्कलित रगतलाई विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडक्रस ब्लड बैङ्कमा सङ्ग्रह गरेको छ ।

सुकुना बहुमुखी क्याम्पसमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मिति २०८० साल भाद्र २१ गते विहीबारका दिन सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको अध्यक्षता र विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारी र नगरप्रमुख श्री केदारप्रसाद गुरागाईँको समुपस्थितिमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्यहरू‚ लेखा समिति तथा पुनरावेदन समितिका सदस्यहरू‚ सञ्चालक समितिका पूर्वपदाधिकारीहरू‚ पूर्वक्याम्पस प्रमुखहरू‚ प्रतिनिधिमूलक रुपमा जनप्रतिनिधिहरू‚ क्याम्पस प्रमुख‚ सहायक क्याम्पस प्रमुखहरू‚ शैक्षिक कार्यक्रमका संयोजकहरू‚ विभागीय प्रमुखहरू‚ कार्यक्रम निर्देशक‚ फोकल पर्सन‚ स्वमूल्याङ्कन समूह‚ विभिन्न समितिका प्रतिनिधिहरू‚ क्याम्पमा कार्यरत शिक्षकहरू‚ कर्मचारीहरू‚ स्ववियुका पदाधिकारीहरू र विद्यार्थी गुणस्तर समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वमूल्याङ्कन समूहका संयोजक एवम् शिक्षक श्री नरप्रसाद भण्डारीले विभिन्न आठवटा बेञ्चमार्कका आधारमा क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउनुअघि‚ प्रमाणपत्र प्राप्ति पछि र हालको अवस्थामा क्याम्पसले भौतिक‚ शैक्षिक‚ आर्थिक‚ पुस्तकालय‚ विद्यार्थी कल्याण‚ अनुसन्धान‚ प्रकाशन‚ सुशासन‚ प्राज्ञिक उन्नयन तथा पेसागत विकास‚ सामाजिक सम्बन्ध‚ शैक्षिक गुणस्तर अभिवृद्धि‚ विद्यार्थी सङ्ख्याको बढोत्तरी‚ शैक्षिक नतिजाको अवस्था‚ विद्यार्थीका लागि रोजगारी स्थापन‚ प्रतिभा पहिचान र प्रवर्धन‚ अभिलेखीकरण आदि क्षेत्रमा क्याम्पसले गरेका उपलब्धिहरूको तुलनात्मक प्रस्तुति गर्नु भएको थियो । उक्त कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले क्याम्पसले हालसम्म गरेका उपलब्धि प्रति सन्तोष प्रकट गर्दै अब सुकुना बहुमुखी क्याम्पसले स्वयत्तताका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने‚ डिम्ड युनिभर्सिटि (Deemed University) सञ्चालन गर्नु पर्ने‚ अनुसन्धानका गतिविधिहरूलाई सघनरुपमा ठूलो सङ्ख्यामा सञ्चालन गर्नु पर्ने‚ अनुसन्धान अझै नतिजामूखी हुनु पर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा थप प्रयासहरू गर्नु पर्ने र एक नम्बरको सामुदायिक क्याम्पसका रुपमा स्थापित हुनु पर्ने कुरामा जोड दिनु भयो । यस्ता कार्यहरूमा विश्वविद्यालय अनुदान आयोग नेपालले क्याम्पसलाई आर्थिक‚ प्राविधिक र भौतिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख श्री केदारप्रसाद गुरागाईँले क्याम्पसबाट नगरपालिकाले कन्सल्टेन्सी सेवा लिएको‚ क्याम्पसले प्राविधिक धारका कार्यक्रम सञ्चालन गरेमा भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने‚ शैक्षिक गुणस्तरका क्षेत्रमा प्रोत्साहन गर्ने र सुन्दरहरैँचा नगरपालिका क्षेत्रका विद्यालयमा शिक्षकहरूको पेसागत विकासका लागि तालिम तथा सीप विकासमा क्याम्पसका विशेषज्ञहरूलाई प्रयोग गर्ने विचार प्रस्तुत गर्नु भयो ।  क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्री ललितबहादुर श्रेष्ठले उक्त कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियोभने कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गर्नु भएको थियो ।  उक्त कार्यक्रमबाट क्याम्पसले हौसलाका साथ नयाँ गति लिने‚ गुणस्तर सुनिश्चितताको नविकरण छिटै हुने‚ अब नयाँ लक्ष्य र कार्यक्रमका साथ क्याम्पसले प्राज्ञिक स्वयत्तताका कार्यक्रमहरू सञ्चालन गर्दै डिम्ड युनिभर्सिटि (Deemed University) तर्फ उन्मुख हुने भएकाले कार्यक्रम उपलब्धीमूलक भएको मानिएको छ ।