सहायक क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठबाट क्याम्पस प्रमुखकाे पदभार ग्रहण ।

सुकुना वहुमुखी क्याम्पसमा यसै क्यामपसका सहायक क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठलाइ सञ्चालक समितिकाे निर्णय अनुसार मिति २०७५ साल माघ १५ मंगलबारको दिन देखि सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख  पदमा नियुक्त हुनु भएकाेछ । उहालाइ क्याम्पस प्रमुखकाे कार्यकक्षमा प्राध्यापक तथा कर्मचारी र सञ्चालक समितका सदस्यकाे उपस्थितिममा निवर्तमान क्याम्पस प्रमुख श्री प्रेमप्रसाद भट्टरार्इ तथा सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केले पदहस्तान्तरण तथा पदभार ग्रहण गराउनु भएकाे थियाे ।

सुकुना वहुमुखी क्याम्पसमा Academia- Industry Dialogue कार्यक्रम सम्पन्न ।

सुकुना वहुमुखी क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सहयोगमा  मिति २०७४ साल भदौ २४ देखि २८ गतेसम्म पाँच दिवशीय Academia- Industry Dialogue कार्यक्रम सम्पन्न गरियो  । उक्त कार्यक्रमको उद्घाटन सत्र मिति २०७४ भदौ २४ गतेका दिन क्याम्पस सञ्चालक समितिका सदस्य श्री केदारप्रसाद गुरागाईँको सभापतित्व र व्यवस्थापन विभागका विभागीय प्रमुख बलराम पोखरेलले सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा उद्योग वाणिज्य सङ्घ कोसीहरैँचाका अध्यक्ष श्री नवराज चापागाईँले आफ्नो सङ्गठन उच्च शैक्षिक संस्था संग मिलेर कार्यगर्न उत्साहित रहेको बताउनु भयो । सो कार्यक्रममा प्राध्यापक सङ्घका अध्यक्ष श्री अर्जुनराज अधिकारी, पथरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री चेतन पौडेल, उद्योगी श्री भोलेश्वर दुलाल र पूर्वक्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठले क्याम्पसले गरेका प्रयासहरूप्रति सन्तोष व्यक्त गर्दै  कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । प्रमुख अतिथिका रुपमा त्रिवि परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल क्षेत्रका सहनियन्त्रक श्री अर्जुनविक्रम खडकाले प्राज्ञिक क्षेत्र तथा उद्योग, व्यापार तथा व्यवसायिका बीच सहकार्य गर्न सकेमा उद्यशीलताको विकास हुने र रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । उद्घाटन सत्र पछि सोहिदिन देखि प्राज्ञिक र उद्योगी बीच छलफल कार्यक्रम सञ्चालन गरिएको थियो । यसक्रममा पूर्वाञ्चल ल्युव आयलका लि. का प्रवन्ध निर्देशक श्री भोलेश्वर दुलालले व्यवसायिक दक्षताका लागि उच्च शैक्षिक संस्थाले खेल्नु पर्ने भूमिकाका सम्बन्धमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा समूह छलफल भई निष्कर्ष प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य प्राज्ञिक तथा व्यवसायिक क्षेत्र बीच सुमधुर सम्बन्ध कायम र विस्तार गर्नु, व्यवसायिक तथा शैक्षिक क्षेत्रमा देखिएका खाडलहरू पहिचान गर्दै निराकरणका उपायहरूको खोजी गर्नु, उच्च शिक्षा प्रदायक संस्था र उद्योग व्यवसाय बीचका सहसम्बन्धका तथा अनुुुसन्धानका क्षेत्रहरूको पहिचान गर्नु, औद्योगिक तथा व्यवसायिक सहकार्यका सम्भावनाहरूको खोजि गर्नु, उद्योग व्यवसाय क्षेत्रले अपेक्षा गरेको गुणस्तरयुक्त मानव संसाधनको उत्पादन गर्न विश्वविद्यालयका पाठ्यक्रममा समसामियक सुधार गर्न सकिने उपायहरू सुझाउनु ।
कार्यक्रमको दोस्रो दिन मिति २०७४ भदौ २५ गतेका पहिलो सत्रमा तेरिज गोल्ड हाउस उर्लाबारीका प्रवन्ध निर्देशक श्री केदार भण्डारीले स्थानीय उद्योग व्यवसायका लागि उच्च शिक्षाबाट उत्पादित जनशक्तिको उपयोग र सान्दर्भिकताका सन्दर्भमा सहजिकरण गर्नु भएको थियो । यसक्रममा सो विषयमा सामूहिक छलफल गरी निष्कर्ष प्रस्तुत गरिएको थियो । सोहि दिनको दोस्रो सत्रमा उद्योग वाणिज्य सङ्घ विराटनगरका पूर्व उपाध्यक्ष श्री भिम घिमिरेले उद्यमशीलताको विकासमा उच्च शैक्षिक संस्थाको भूमिका र विद्यार्थीका लागि औद्योगिक क्षेत्रको सहयोग विषयमा सहजिकरण गर्नु भएको थियो । प्रस्तुति पछि सो विषयमा सहभागिको धारणा प्रस्तुत गर्न लगाइएको थियो ।
कार्यक्रमको तेस्रो दिन मिति २०७४ भदौ २६ गतेको पहिलो सत्रमा मितेरी विकास बैङ्क धरानका प्रमुख कार्यकारी अधिकृत श्री तुलसी वस्तीले वित्तिय संस्था र उच्च शैक्षिक संस्था बीचको पारस्परिक सम्बन्धका विषयमा सहजिकरण गर्नु भएको थियो । सत्रको अन्त्यमा प्रस्तुत विषयमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिएको थियो । कायक्रमको दोस्रो सत्रमा पूर्वाञ्चल ल्युव आयलका लिमिटेडकाका प्रवन्ध निर्देशक श्री भोलेश्वर दुलालले नेपालमा युवा उद्यमशीलताको सशक्तिकरणका उपाय र चुनौतिहरू भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो । छलफलका क्रममा सहभागिहरूले सो विषयमा थप उपायहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमको चौथो दिन मिति २०७४ भदौ २७ गतेको पहिलो सत्रमा राष्ट्रिय सहकारी बैङ्कका केन्द्रिय अध्यक्ष श्री रमेशप्रसाद पोख्रेलले सहकारी संस्था र उच्च शैक्षिक संस्था बीचको सम्बन्धको विषयमा सहजिकरण गर्नु भएको थियो । प्रस्तुत विषयमा पनि सामूहिक छलफल कार्यक्रम गरी निष्कर्ष प्रस्तुत गरिएको थियो । सोहि दिनको दोस्रो सत्रमा राउत कन्स्ट्रक्सन लिमिटेडका निर्देशक श्री राजेन्द्र राउतले निर्माण व्यवसायबाट हुने रोजगारीको सिर्जना विषयमा सहजिकरण गर्नु भएको थियो । यस विषयमा समेत सामूहिक छलफल गरी निष्कर्ष निकालिएको थियो ।
कार्यक्रमको पाचौँ तथा अन्तिम दिन मिति २०७४ भदौ २८ गतेको पहिलो सत्रमा प्लान्ट डिजाइनर, केमिकल इन्जिनियर तथा बोट्लर नेपाल लिमिटेडका कार्यकारी प्रमुख श्री सञ्जयकुमार शाहले उद्योग व्यवसायले उच्च शिक्षामा र उद्योग व्यवसायलाई उच्च शिक्षाले गर्ने विद्यमान र भावी योगदान विषयमा सहजिकरण गर्नु भएको थयो । यस विषयमा सहभगि उद्योगी, विद्यार्थी र प्राध्यापक बीचमा अन्तरक्रिया गरी निष्कर्ष प्रस्तुत गरिएको थियो । सोहि दिनको दोस्रो सत्रमा क्याम्पस सञ्चालक समितिका जेष्ठ सदस्य श्री नारायणप्रसाद चुडालको सभापतित्वमा समापन कार्यक्रम सञ्चालन गरियो । समापन कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसकी सहभागि विद्यार्थी श्री सफलता बुढाथोकी, सुकुना बहुमुखी क्याम्पसकी सहभागि विद्यार्थी श्री सुनिता श्रेष्ठ र प्रकाश खुलाल, कोसीहरैँचा उद्योग वाणिज्य सङ्घका लेखा समिति सदस्य श्री ज्ञानबहादुर बुढाथोकी, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका सहायक क्याम्पस प्रमुख श्री मोहनकुमार श्रेष्ठ, पथरी बहुमुखी क्याम्पस पथरीशनिश्चरेका क्याम्पस प्रमुख श्री चेतन पौडेल र सुकुना वहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य श्री केशव अधिकारी समेतले कार्यक्रमको समिक्षा गर्दै मन्तव्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख श्री प्रेमप्रसाद भट्टराईले सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । प्रत्येक दिनको  कार्यक्रम सञ्चालन व्यवस्थापन विभागका विभागीय प्रमुख तथा कार्यक्रम संयोजक श्री बलराम पोखरेलले गर्नु भएको थियो ।

सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा श्री प्रेमप्रसाद भट्टराईको नियुक्त तथा पदभार ग्रहण।

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिको मिति २०७४ साल असार ३० गते बसेको बैठकबाट मिति २०७४ साल साउन १ गतेबाट लागू हुने गरी सहायक क्याम्पस प्रमुख उपप्राध्यापक श्री प्रेमप्रसाद भट्टराईलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय भए अनुसार मिति २०७४ साल साउन १ गते क्याम्पस सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका पदाधिकारी, निवर्तमान क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ साथै प्राध्यापक तथा कर्मचारीहरूको उपस्थितिमा निर्णय अनुसार नै नव नियुक्त क्याम्पस प्रमुखको पदभार ग्रहण गर्ने कार्य सम्पन्न गरियो । उक्त अवसरमा नवनियुक्त क्याम्पस प्रमुख श्री प्रेमप्रसाद भट्टराई, सञ्चालक समितिका अध्यक्ष देवेन्द्रकुमार मास्के, निवर्तमान क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ र पब्लिक क्याम्पस इकाई समितिका सभापति अर्जुनराज अधिकारीले मनतव्य व्यक्त गर्नुभएको थियो ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका कार्यक्रम अन्तर्गत तेस्रो तथा अन्तिम दिन २०७४ साल बैशाख १ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको उपस्थितिमा उत्साहजनक रूपमा सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका कार्यक्रम अन्तर्गत तेस्रो तथा अन्तिम दिन २०७४ साल बैशाख १  गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको उपस्थितिमा उत्साहजनक रूपमा सम्पन्न भयो । विद्यार्थी, अभिभावक, प्राध्यापक लगायत स्थानीय मानिसहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रमको उद्घाटन राष्ट्रपतिले पानसमा बत्ती बालेर गर्नुभएको थियो । बिशेष आकर्षक कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूको पिटी प्रदर्शनलाई राष्ट्रपतिबाट अवलोकन भएपछि राष्ट्रपतिबाट क्याम्पसको रजत स्तम्भ तथा विज्ञान भवनको उद्घाटन भएको थियो । त्यसपछि राष्ट्रपतिबाट मनतव्य समेत राख्दै जनस्तरबाट सञ्चालति सुकुना क्याम्पसको प्रगति र विकासको प्रशंशा गर्दै प्रगतिको शुभकामना दिनुभएको थियो भने सरकारी तवरबाट प्रदान गरिदै आएको सार्बजनिक शिक्षाको स्तर राम्रो नदेखिइरहेको समेत गुनासो राख्नुभएको थियो । यसै कार्यक्रममा राष्ट्रपतिसँगै पाल्नुुहुने नेपाली काङ्ग्रेस नेतृ सुजता कोइराला र नेकपा एमालेका महासचिव इश्वर पोखरेलले समेत शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसको उन्नतीकालागि बिशिष्ट योगदान गर्नु हुँने नौ जना महानुभावहरूलाई राष्ट्रपतिज्यूबाट सम्मान तथा प्रशंशा पत्र प्रदान भएको थियो । यस अवसरमा सुकुना बहुमुखी क्याम्पसका तर्फबाट राष्ट्रपतिलगायत अतिथिज्यूहरूलाई कार्यक्रमका अध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवेन्द्रकुमार मास्केले मायाँको चिनो प्रदान प्रदान गर्नु भएको थियो ।
राष्ट्रपतिको आगमन हुँनु अघि क्याम्पस साँस्कृतिक उपसमितिले तयार गरेका आकर्षक गायन र नृत्य प्रस्तुत भएका थिए भने राष्ट्रपतिको आगमन पश्चात सुरुआतमा क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठले क्याम्पसका गतिविधिको झलक प्रस्तुत गर्नु भएको थियो ।  कार्यक्रमको सञ्चालन सहायक क्याम्पसक प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठले गर्नुभएको थियो ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख ३ दिने कार्यक्रम अन्तर्गत दोस्रो दिन २०७३ साल चैत्र ३१ गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खानियाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न ।

सुकुुना बहुमुखी क्याम्पसको रजत महोत्सवका प्रमुख ३ दिने कार्यक्रम अन्तर्गत दोस्रो दिन २०७३ साल चैत्र ३१  गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खानियाज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरियो । पानसमा बत्ती बालेर सुरू गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट क्याम्पस स्थलमा निर्मित सरस्वती मन्दिरको शिलान्यास, पुस्तक प्रदर्शनी र विज्ञान प्रदर्शनीको अवलोकन गर्ने कार्य समेत गरियो । प्रमुख अतिथिज्यूबाट सुकुना बहुमुखी क्याम्पसको Research Management Cell (RMC) ले प्रकाशन गरेको Academic Journal of Sukuna (AJOS) को विमोचन गर्नुभएको थियो ।
यस अवसरमा कलाकार अन्जु गौतम र साजन राईबाट अतिथि कलाकारका रूपमा गायन प्रस्तुत भएका थियो भने, सुकुना बहुमुखी क्याम्पस, बालप्रतिभा आवासिय माध्यमिक विद्यालय र शिद्धार्थ आवासिय माध्यमिक विद्यालयका विद्यार्थीका तर्फबाट गीत तथा नृत्य प्रस्तुत गरिएका थिए । कार्यक्रममा अक्षयकोष स्थापना गर्ने महानुभाव,पूर्ब विद्यार्थी, पूर्व स्ववियू सभापतिहरू, क्याम्प्सका प्राध्यापक सङ्घका पूर्व सभापतिहरू,स्थापना कालमा रु२५,०००÷— भन्दा माथी क्याम्पसलाई सहयोग गर्नुहुने दाताहरू, यस क्याम्प्समा अध्ययन गरी विभिन्न निकायमा उच्च पदमा पुग्न सफल पूर्वविद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । यसै अवसरमा रजत महोत्सव सफल वनाउन सहयोग गर्नुहुने चन्दा दाताहरूको नाम पनि वाचन गर्ने कार्य गरियो ।

पूर्व विद्यार्थीको पुनर्मिलन कार्यक्रम निकै आकर्षक थियो जसमा यो क्याम्पसमा अध्ययन गरी हाल आफ्नो कार्यमा व्यस्तताका बवजुद उत्साहजनक रूपमा पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.तीर्थराज खानियाले क्याम्पस Academic Autonomic तर्फ जान सकोस, स्थानीय अवश्यकताका बिषय सम्बोधन गर्न र बदलिदो विश्वपरिवेशमा प्रतिस्पर्धी बनोस भन्ने शुभकामना दिनुभएको थियो भने स्थानीय समाजसेवी तथा शिक्षाप्रेमी भोलेश्वर दुलालबाट सधै साथ सहयोग रहने भाव व्यक्त गर्दै सुव्यवस्थित रूपमा सुभकामना मनतव्य राख्नु भएको थियो । पूर्वस्ववियू सभापतिहरू मध्येबाट यज्ञ सुवेदी, नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष श्री डिकबहादुर लिम्बू,पूर्वविद्यार्थीहरूमध्येबाट नै टंक गौतम र प्रेमप्रकाश उप्रेतीले पनि मनतव्य राख्नुभएको थियो । क्याम्पस स्थापना कालका अग्रज श्री हरी बैरागी दाहालले पनि क्याम्पस विकास र विस्तारका सम्भावनालाई समेत समेट्दै सुभकामना मनतव्य दिनुभएको थियो । कार्यक्रममा आयोजकको तर्फबाट  क्याम्पस  प्रमुख पीतकुमार श्रेष्ठले स्वागत र सहायक क्याम्पसक प्रमुख प्रेमप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र १९ गते कविगोष्ठी सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र १९ गते कविगोष्ठी सम्पन्न गरियो । उक्त कविता गोष्ठीमा पूर्वाञ्चलका प्रतिष्ठित कविहरूको उपस्थिति रहेको थियो भने झापा, मोरङ र सुनसरीका ८० जनाको उपस्थितिमा ५२ जना कविहरूले कविता बाचन गर्नुभएको थियो । यस कार्यक्रमको प्रमुख अतिथिमा श्री उपेन्द्र बस्नेत (पागल) , तथा अतिथिहरूमा प्राज्ञ श्री दधिराम सुवेदी र श्री दिवस पोखरेलकोे उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक श्री दिपक न्यौपानेले गर्नु भएको थियो ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा सेमिनार सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र २६ गते शनिबार कार्यक्रम क्याम्पसको हलमा ८२ जना सहभागि रहेको सेमिनारमा  २  ओटा कार्यपत्र (सङ्घीयतामा शिक्षा र प्रदेश नं. १ को सम्वृद्धिको सवाल) प्रस्तुती र टिप्पणी भइ सम्पन्न गरियो । पहिलो कार्यपत्र सुकुना बहुमुखी क्याम्पसका तर्फबाट तयार गरिएको अवधारणा पत्र श्री नरप्रसाद भण्डारीले प्रस्तुत गर्नुभएको र यसको टिप्पणी डा. पेशल खनाल र अशोक कालाखेतीले गर्नु भएको थियो भने दोस्रो कार्यपत्रको प्रस्तुती डा. अर्जुन बरालले गर्नु भएको र यसको टिप्पणी प्रा.डा. पि.के. झा र बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्टार श्री तुलबहादुर श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको संयोजन सहायक क्याम्पस प्रमुख श्री लक्ष्मीकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख श्री चन्द्रमणी राईले गर्नुभएको थियो । उक्त अवसरमा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष श्री गुरु बरालले समेत कार्यपत्रमा आएका विचार प्रति आफ्ना भनाइ राख्नु भएको थियो ।

सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा मिति २०७३ साल चैत्र २८ गते रक्तदान कार्यक्रम गरियो । उक्त कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत समुदायका मानिसहरूको समेत योगदान भइ जम्मा १२७ पिन्ट ब्लड जम्मा गरी नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय विराटनगरमा जम्मा गरिएको थियो । उक्त कार्यक्रमको संयोजन सहायक क्याम्पस प्रमुख श्री चन्द्रमणी राईले गर्नु भएको थियो ।

रजत महोत्सवको अवसरमा पत्रकार सम्मेलन ।

सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा सम्पन्न भइसकेका र हुन बाकी कार्यक्रमको समेत जानकारी गराउने उद्देश्यले मिति २०७३ साल चैत्र २९ गते १२ बजे क्याम्पस प्रमुखको कार्यकक्षमा पत्रकार माझ क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठले पत्रकार हरूको भेला गराई जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ क्याम्पस प्रमुख श्री पीतकुमार श्रेष्ठ र क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्के ले दिनुभएको थियो । उक्त अवसरमा राजधानी दैनिक, कान्तिपुर दैनिक, हिमसिखर टेलिभिजन, अन्नपूर्ण पोष्ट, ब्लाष्ट दैनिकका पत्रकारहरू लगायत स्थानीय पत्रकारहरूकोसमेत उपस्थिति रहेको थियो ।

प्रशासनिक भवन तथा पुस्तकालय भवनको भवनको उद्घाटन, विज्ञान र पुस्तक पदर्शनीको अवलोकन सहित रजत महोत्सवको मूल कार्यक्रम अन्तर्गतको २०७३ चैत्र ३० गतेको कार्यक्रम भब्य रूपमा सम्पन्न ।

आज मिति २०७३ साल चैत्र ३० गते सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको मूल कार्यक्रम अन्तर्गतको पहिलो दिन विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देवराज अधिकारीज्यूको प्रमुख आतिथ्यमा उत्साहजनक रूपमा सम्पन्न भयो । योजना अनुरूप प्रमुख अतिथिज्यूबाट प्रशासनिक भवन तथा पुस्तकालय भवनको भवनको उद्घाटन, विज्ञान तथा पुस्तक प्रदर्शनीको अवलोकन भयो । उक्त अवसरमा साँस्कृतिक कार्यक्रम समेत प्रस्तु गरियो जस्मा कलाकार तुलसी पराजुलीको गायन र क्याम्पसका विद्यार्थीहरूले प्रर्शन गरेको तृत्य प्रस्तुतीको अवलोकन पनि गरिएको थियो । क्याम्पसका विद्यार्थीहरू, प्राध्यापक, कर्मचारी, स्ववियू पदाधिकारी तथा अभिभावको उत्साहजनक उपस्थितिमा कार्यक्रम भएको थियो ।
उक्त अवसरमा प्रा.डा. अधिकारीको मनतव्यमा यसक्याम्पसले गरेको प्रगतिकोप्रशंशा, चन्दादाताको सहयोग पनि प्रशंशा गर्दै अवका दिनमा अनुसन्धानका क्षेत्रमा क्याम्पसले लगानी बढाउनुपर्ने तर्फ ध्यानाकर्षया समेत गराउनुभएको थयो । क्याम्पसक सञ्चालक समितिका अध्यक्ष श्री देवेन्द्रकुमार मास्केको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस स्थापनाकालका जग्गा तथा नगद दाताहरूलाई प्रमाणपत्र समेत वितरण गरियो भने रजत महोत्सवका अवसरमा भएका खेलकुद, वादविवाद, कविता गोष्ठी आदि अतिरिक्त क्रियाकलापमा छनोटमा परेका विभिन्न क्याम्पसका सहभागिहरूलाई पनि प्रमाणपत्र वितरण गर्ने कार्य सम्पन्न गरियो ।