क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

यस सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङको विभिन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई क्याम्पसले मिति २०८१ साल असोज १५ गतेका दिन क्याम्पस सभाकक्षमा एक समारोह गरी छत्रवृत्ति वितरण गरेको छ । क्याम्पसमा स्थापना गरिएको अक्षयकोषको व्याज, विभिन्न सङ्घ/संस्था/निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट समेत गरी पहिलो चरणमा शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने १८३ जना जेहेन्दार विद्यार्थीहरूलाई प्रमाणपत्रसहीत जम्मा रु. १८,८१,९९८/- रकम छात्रवृत्ति वितरण गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको सभापतित्वमा क्याम्पस सभाकक्षमा छात्रवृत्ति वितरण समारोहमा अक्षयकोषदाताहरू, छात्रवृत्ति दाता सङ्घ/संस्था/सहकारी/बैङ्कका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरू र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू गरी करिब ३५० जनाभन्दा बढि सहभागि रहेका थिए । संविधान सभाका माननीय सदस्य श्री चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । मन्तव्यका क्रममा आगामी मङ्सिर महिनामा दोस्रो चरणका लागि शैक्षिक रूपमा उत्कृष्टता हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको जानकारी पनि अधिकारी दिनु भएको थियो । प्रमुख अतिथी गुरुङ र अध्यक्ष अधिकारीले आगामी वर्षहरूमा छात्रवृत्ति पाउने सङ्ख्या वृद्धि गर्दैजाने र यसबाट क्याम्पस छात्रवृत्तिका लागि पनि अब्बल बन्ने धारणा राख्नु भएको थियो । सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अक्षयकोषको व्याज, विभिन्न सङ्घ/संस्था/निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले छात्रवृत्तिका लागि उपलब्ध गराएको रकम, विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराएको छात्रवृत्ति र रुक्माङ्गत ट्रष्टले उपलब्ध गराएको छात्रवृत्ति समेत गरी जम्म २५१ जना विद्यार्थीहरूले पहिलो चरणमा जम्मा रु. २९,३२,१९८/- छात्रवृत्ति प्राप्त गर्न सफल भएको विवरण प्रस्तुत गरिएको थियो ।

Leave A Reply