क्याम्पसमा मुक्तक प्रतियोगिता कार्यक्रम सम्पन्न ।

मिति २०८० फागुन ११ गते शुक्रबारका दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू बिच मुक्तक वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समिति र नेपाली विभाग अन्तर्गतको अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा र विदुर सुवेदीको सभापतित्वमा
सञ्चालन भएको मुक्तक वाचन प्रतियोगिता कार्यक्रममा २४ जना सर्जक विद्यार्थीहरूले प्रतियोगितात्मक मुक्तक वाचन गरेका थिए । उक्त
कार्यक्रममा प्रथम स्थानमा दिलकुमार सुयल‚ द्वितीय स्थानमा सत्तिस कार्की‚ तृतीय स्थनमा एलिना थापा र सान्त्वनामा सज्जल भट्टराई छनोट
भएका थिए । उक्त कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य एवम् शिक्षण सहायक रेखा सुवेदीले गरेकी थिइन् ।

दुई अनुसन्धान व्यवस्थापन एकाइ बिच द्विपक्षिय सम्झौता सम्पन्न

मिति २०८० फागुन १० गते विहिबारका दिन एक समारोहमा सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङ र जनमैत्री बहुमुखी क्याम्पस‚
कुलेश्वर‚ काठमाडौं बिच अनुसन्धान‚ शिक्षण कौसल‚ ज्ञान अभिवृद्धि र संस्थागत सञ्जाल तथा सम्बन्धको विकास र ती क्षेत्रहरूमा सहकार्य गर्ने
विषयमा द्विपक्षिय सम्झौता सम्पन्न भएको छ । दुबै क्याम्पसका क्याम्पस प्रमुख द्वय अर्जुनराज अधिकारी र भोलानाथ ओझाको रोहवरमा सुकुना
बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहाल र जनमैत्री बहुमुखी क्याम्पसका अनुसन्धान व्यवस्थापन एकाइका
प्रमुख अनिलप्रसाद भुषालले सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गरेका थिए ।

अनुसन्धान कार्यक्रम सञ्चालनका लागि बैठक सम्पन्न

क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) को आयोजनामा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने विषयमा मिति २०८० माघ ११ गते विहान क्याम्पस सभाकक्षमा शिक्षक बैठक सम्पन्न भएको छ । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा अनुसन्धान व्यवस्थापन एकाइकाको तर्फबाट तयार गरिएको कार्ययोजना र कार्यक्रमको रुपरेखा प्रस्तुत गरिएको थियो । प्रस्तुत कार्ययोजनाअनुसार क्याम्पसले Academic Handbook of Sukuna मा अनुसन्धानमूलक लेखहरू प्रकाशन गर्ने‚ लघुअनुसन्धान र सर्भेका कार्यहरू सम्पन्न गर्ने‚ विज्ञ समिक्षीत जर्नल प्रकाशन गर्ने तथा क्याम्पस र काठमाडौँ विश्वविद्यालय सहकार्यमा शिक्षकहरूलाई ४८ घण्टे विकसित अनुसन्धानको कोर्स सञ्चालन गरिने योजना प्रस्तुत गरिएको थियो ।

क्याम्पस र बङ्गलादेशको डाफ्फोडिल पोलिटेक्निक्स तथा इन्जिनियरिङ टेक्नोलोजी संस्था बिच सम्झौता सम्पन्न


सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा र बङ्गलादेशको ढाकामा रहेका दुई प्राविधिक शैक्षिक संस्थाहरू क्रमशः Daffodil Institute of Engineering Technology and Daffodil Polytechnic Institute, Dhaka, Bangladesh बिच २० जनवरी २०२४ तदनुसार २०८० माघ ६ गतेका दिन ढाकामा एक समारोहमा सहकार्यात्मक अनुसन्धान, सूचना तथा प्रविधि, शिक्षण कौशल र शैक्षिक गुणस्तरका विषयमा अनुभव आदान प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताको हस्ताक्षर तथा सम्झौता आदान प्रदान कार्यक्रममा बङ्गलादेश स्थित उक्त संस्थाका प्रो-भाइस चान्सलर, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो भने क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष‚उपाध्यक्ष, लेखा समितिका संयोजक‚ पुनरावेदन समितिका संयोजक‚ सहायक क्याम्पस प्रमुख‚ क्युएए फोकल पर्सन‚ प्राध्यापक सङ्घका सभापति‚ पूर्वविद्यार्थी समाजका अध्यक्ष‚ लगायत सञ्चालक समितिका सदस्यहरू, शिक्षक एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो । सम्झौतापत्रमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारी र Daffodil Institute of Engineering
Technology and Daffodil Polytechnic Institute, Dhaka, Bangladesh को तर्फबाट कार्यकारी निर्देशक के. एम. हसनले हस्ताक्षर गरी सम्झौतापत्र आदान प्रदान गर्नु भएको थियो ।

क्याम्पस र बङ्गलादेश‚ ढाका स्थित युनिभर्सिटि अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेस बिच सम्झौता

यस सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङ र बङ्गलादेशको राजधानी ढाकामा रहेको युनिभर्सिटि अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेस (UITS) बिच सन् २०२४ जनवरी १८ का दिन ढाकामा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा सम्बन्ध विकास र विस्तार गर्ने विषयमा एक सम्झौता सम्पन्न भएको छ । जनवरी १६ देखि जनवरी २२ सम्मका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी‚ उपाध्यक्ष ललितबहादुर श्रेष्ठ‚ लेखा समितिका संयोजक चन्द्रप्रसाद फुयल‚ पुनरावेदन समितिका संयोजक उमेश वस्ती‚ क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको नेतृत्वमा शैक्षिक अवलोकन भ्रमणमा गएको सञ्चालक समितिका सदस्यहरू‚ शिक्षक तथा कर्मचारीहरूले बङ्गलादेशका विभिन्न विश्वविद्यालयहरू र क्याम्पसहरूको अवलोकन भ्रमणमा रहेका छन् ।
सन् २०२४ जनवरी १८ मा भएको सम्झौताअनुसार दुबै शैक्षिक संस्थाहरूले एकआपसमा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने‚ विद्यार्थी तथा शिक्षक आदान प्रदान गरी सम्बन्ध समधुर गर्ने र प्रकाशनका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता पत्रमा सुकुना बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले र युनिभर्सिटि अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेस (UITS) ढाका‚ बङ्गलादेशको तर्फबाट सो विश्वविद्यालयका उपकुलपति प्रा.डा. महमद अब्बु हसन भुईँयाले हस्ताक्षर गर्नु भएको छ । सम्झौता आदानप्रदान कार्यक्रममा उक्त विश्वविद्यालयका रजिष्ट्रार‚ आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख‚ शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । सुकुना क्याम्पसको भ्रमण टोलीले ढाका स्थित नेपाली राजदुत श्री घनश्याम भण्डारी सँग भेटगरी बङ्गलादेशले क्याम्पसको शैक्षिक‚ भौतिक‚ प्राविधिक र अनुसन्धानका क्षेत्रमा पुर्याउने सहयोगका सम्भावनाहरूका विषयमा छलफल समेत गरेको थियो ।